१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
  • प्रमुख खबर

पोखरा ।।
१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।

विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा हुने उक्त महाेत्सवकाे तयारी तिब्र पारिएको साेमबार पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी दिइएकाे छ । महाेत्सव यही चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म अायाेजना हुनेछ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार यस आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने जानकारी दिएका छन् । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको समेत उनले बताए ।

त्यस्तै अध्यक्ष श्रेष्ठले यस वर्ष महोत्सवमा प्रतिकेजी आलुको मूल्य अधिकतम ४२ रुपैयाँ कायम हुने जनाएका छन् । ‘यो अधिकतम मूल्य भएको र यो भन्दापनि कम हुनसक्छ, उनले भने।’ पोखरामा अहिले आलुको मूल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ छ ।

यस्तै साे पत्रकार सम्मेलनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी लगायतले पनि धारणा राख्दै आलु महोत्सवको प्रवद्र्धनमा जोड दिए।

वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आइरहेका छन् ।

त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औसद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।

त्यस्तै आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको आयाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्