पाेखरा ।।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरुवात भएको छ ।
नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइट पोखरामा ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाजले भरेको छ ।
यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।
उक्त जहाजमा १ सय ७ यात्रु पोखरा आएका छन् । जसमा ३२ जना चिनियाँ र ७५ जना नेपाली नागरिक छन् ।
यात्रुहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतले स्वागत गरेका छन् ।
जहाज भोलि ल्हासाका लागि उड्ने छ । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो वायु सेवा कम्पनी बनेको हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको हो ।
यात्रु सङ्ख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ । यस उडानले पोखरेलीहरूमा नयाँ उत्साह र यस क्षेत्रको पर्यटनमा नयाँ आशाहरू थपेको नगर प्रमुख आचार्यले बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको करिब २ वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकोमा खुसी व्यक्त गर्दै उनले यसले पोखरा अन्तर्राष्ट्रिय बजारसँग सिधा जोडिने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यसको निरन्तरतामा जोड दिए । पर्यटन राज्यमन्त्री चौधरीले यसले पोखरा र समग्र यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।












