४० टन आलुको पहाडसँगै सुरु भयाे १३ औं हेमजा आलु महोत्सव
  • प्रमुख खबर

पोखरा ।।
१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, ४० टन आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवकाे शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको बताउँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको बताए ।

उनले आलु महोत्सवलाई महानगरले अपनत्व लिइरहेको उल्लेख गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

महानगर प्रमुख आचार्यले क्लबको निर्माणधिन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन महानगर तयार रहेको स्पष्ट समेत पारे ।

गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव वासुदेव रेग्मीले हेमजामा खेतीयोग्य जमिन क्रमश घडेरीकरण हुँदै जानु दुःखद् भएको औँल्याउँदै आलुको उत्पादन तथा उत्पादकत्व वृद्धितर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उनले औधोगिक आलु उत्पादनको महत्वमाथि प्रकाश पार्दै कृषि उपजको आयात दर घटाउन सके देश क्रमशः समृद्ध बन्दै जाने स्पष्ट पारेका छन् ।

यस्तै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विष्णुपादुका क्लब हेमजाको स्थापित क्लब भएको बताउँदै क्लबले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्राण्डिङ गर्न भूमिका खेलेको बताए । महोत्सवले कृषि पेशामा लाग्न कृषकहरुलाई हौसला थप्ने समेत उनको भनाई छ ।

उक्त महाेत्सव उद्घाटनकै अवसरमा हलगोरु पाल्ने कृषक विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजार सहित सम्मान गरिएकाे छ ।

त्यस्तै हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकाे भन्दै भाषाविद् मुकुन्दशरण उपाध्यायलाई पनि सम्मान गरिएको छ।

वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।

त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ ।

महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । आजदेखि सुरु महोत्सव यहि बैशाख ३ गतेसम्म संचालन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्