पाेखरा ।।
ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञकाे संकल्प सभा सम्पन्न भएको छ ।
मानव सेवा फाउण्डेशनकाे आयाेजनामा हुने उक्त कोटिहोमकाे संकल्प सभा आइतबार(आज) सम्पन्न भएको हाे ।
पोखरा-१७ बिरौटा स्थित हरिहर मन्दिरमा हुने उक्त काेटिहाेम २०८२ बैशाख १७ देखी जेठ २६ गते सम्म सञ्चालन हुनेछ ।
उक्त संकल्प सभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रम बारे जानकारी दिएका छन् ।
उनले यस ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्रकाे पर्यटन विकाससँगै धार्मिक दृष्टिकोणमा यसकाे महत्व, यज्ञको महिमा, हवनको महिमा,कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिए ।
उनका अनुसार विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयकाे उपस्थितमा चैत्र २९ गतेबाट नै कथा वाचन हुने भएको छ ।
यस्तै यस काेटिहाेम अवधिभर शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशिर्वचन हुने कार्यक्रम समेत तय भएको महायज्ञका संकल्पकर्ता विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
यस ऐतिहासिक महायज्ञमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचनका साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने अायाेजकले जनाएको छ ।
त्यस्तै यसै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रमहरु गरिने पनि बताइएको छ ।
आयाेजक संस्थाका अनुसमर पाेखरामा हुने यस काेटिहाेममा संकलन भएको रकमबाट खर्च कटौती गरेर बाँकी रहेकाे रकमबाट पाेखरा-१७ काे हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासका लागि पहल गर्ने जनाइएको छ ।











