पोखरा ।।
नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २५ वर्षमा पुग्ने भएसंगै रजत वर्ष महोत्सव गर्ने गरी आफ्ना कार्यक्रम तय गरेको छ ।
मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलनकाे अायाेजना गरि साे कुराकाे जानकारी दिएकाे हाे । यस्तै साे अवसरमा खेलकुदमा योगदान पुर्याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गर्ने समेत जनाएको छ ।
मञ्चको आगामी बैशाख ८ गते आफ्नो स्थापना दिनसंगै रजत वर्ष महोत्सव गरी विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ भने अध्यक्ष दिल बहादुर गुरूङको संयोजकत्वमा ३५१ सदस्यिय मुल आयोजक समिति पनि गठन गरेको छ ।
अध्यक्ष गुरूङले रजत वर्ष नेपाली खेलकुद इतिहासमा महत्वपूर्ण क्षणको रुपमा लिएको जनाउँदै मञ्च २५ वर्षमा पुगे संगै नेपाली खेलकुदमा योगदान पुर्याउने एकजनालाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने बताएका छन् ।
यो पुरस्कार हरेक दुई वर्षमा एकजनालाई दिने गरी स्थापना गरिएको जनाउँदै यो वर्ष रजत महोत्सवको समापन कार्यक्रममा प्रदान गरिने बताए ।
मञ्चका अनुसार रजत वर्ष महोत्सवका अवसरमा मासिक/साप्ताहिक दौडलाई निरन्तरता संगै आमा समुह दौड, पूर्नमिलन कार्यक्रम, अन्तर मावि वक्तित्वकला, चित्रकला प्रतियोगिता, दृष्टिविहिन यू–१२ दौड प्रतियोगिता, पत्रकार दौड प्रतियोगिता, जनप्रतिनिधी दौड, चालक दौड तथा ६० वर्ष माथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरिएको छ भने गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’ समेत रजत वर्ष महोत्सवका अवसरमा आयोजना गरिने छ ।
रजत वर्ष महोत्सवकै अवसरमा प्रकाशन गरिने स्मारिका प्रकाशनका लागि द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
मञ्चले आयोजना गर्दै आएको नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरेको छ ।
मञ्चले २० औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने जनाउँदै खेलाडी दर्ता प्रक्रिया सुरू भएको जनाएको छ ।
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत, अक्षयकोषमा ३१ लाख
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको छ ।
गत फागनु ३ गते सम्पन्न पोखरा म्याराथनको आय–व्यय सार्वजनिक गर्दै मञ्चका कोषाध्यक्ष हरि बहादुर बरुवालले आम्दानी रु.९३ लाख ७० हजार ६८९े रुपैंया तथा रु.८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भई १२ लाख २९ हजार ५११ रुपैंयाँ ७ पैसा बचत गर्न सफल रहेको मञ्चले जनाएकाे छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हाल सम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारण तीन–तीन पटक स्थगित पोखरा म्याराथनले कोभिड पछिका तीन वर्ष घाटा समेत व्यहोरेको थियो ।
यस्तै पोखरा म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानिय तहबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्धेश्यले मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा समेत ३१ लाख ५४ हजार २५६ रुपैयाँ ३३ पैसा संकलन भएको कोषाध्यक्ष बरुवालले बताए ।
सो अक्षयकोषमा देश विदेशमा छरिएर रहेका मञ्चका आजिवन सदस्य र दिवंगत आजिवन सदस्यका परिवारहरुबाट आफ्ना स्वर्गीय स्वजनको स्मृतिमा रकम प्रदान गरेका हुन् ।
सो अक्षयकोषमा मञ्चका आजिवन सदस्य तथा डायमण्ड बुद्घिष्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरूङले रकम प्रदान गरी सुरूवात गरेका थिए ।











