पाेखरा ।।
होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नव वर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् ।
चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुनेछ ।
महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको थियो ।
महोत्सवका मूल संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने र्याली तथा झाँकी विशेष रहने जानकारी दिए ।
लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाचहरु हरेक दिन प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् ।
व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् ।
सो अवसरमा संघको २० औं अधिवेशनबाट निर्वाचित भई २०८१ सालको कात्तिक ७ गतेसम्म सक्रिय समितिका पदाधिकारीहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।
यसअघि सम्पन्न संघका महोत्सव र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउने एरिया संयोजकहरुलाई पनि सो अवसरमा मायाको चिनो प्रदान गरियो ।