पाेखरा ।।
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । होटल संघ पोखरा नेपालले बिहिवार पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
महाेत्सव चैत ३० देखि आगामी बैशाख १ गतेसम्म पोखराकाे खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना हुनेछ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार २२ वर्ष अगाडि सुरुवात गरिएको यस महाेत्सवकाे मुख्य उद्देश्य पर्यटन, संस्कृक्ति र खाना प्रर्वदन गर्नु रहेकाे छ ।
उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा प्रस्तुत हुने बताएका छन् ।
यस्तै महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतीसँगै बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि समेटिएको उनले बताए ।
यस महाेत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता पनि रहने छन् ।
यसपटक नयाँ आकर्षणको रुपमा संस्थागत व्याडमिन्टन कप प्रतियोगिता रहेको छ ।
त्यस्तै स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् ।
अध्यक्ष सुवेदीका अनुसार महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलहरुले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् ।
यस्तै अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेकोमा यस महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्नेमा आफुहरु विश्वस्त रहेकाे पनि जानकारी दिएका छन् ।
यसैगरी अहिले पोखरा महानगरले घोषणा गरेको भिजिट पोखरा २०२५ मनाइरहेकाे याे घडीमा यसलाई थप सफल पार्न फेवा महोत्सवले भूमिका खेल्ने आयाेजकले जनाएको छ ।