पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा, १८ हजार जना उतार्ने तयारी
  • प्रमुख खबर

पोखरा ।।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ ।

लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो ।

सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए ।

रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् ।

सभागृहको र्‍यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुने एमाले कास्की उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।

जागरण सभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जा लगायतका जिल्लाबाट पनि सहभागिता रहनेछ । र्‍यालीपछिको सभालाई नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् ।

र्‍यालीमा १८ हजार जनाको सहभागिता रहने गरी तयारी सकिएको उपाध्यक्ष बरालले बताए ।

जागरण सभाले गर्दा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न एमाले कास्की सचिव दर्शन लामाले आग्रह गरे ।

कार्यालय, विद्यालय बन्द रहने दिन भएकाले जागरण सभाले कार्यालय र पठनपाठनमा अवरोध नगर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्