पोखरामा २० औं फेवा नव वर्ष महोत्सव सुरु
  • प्रमुख खबर

पोखरामा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको यस महोत्सव शनिबार(आज) बाट सुरु भएको हो ।

यस महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन्। महोत्सव आजबाट सुरु भई वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटन अघि खहरे र ड्यामसाइडबाट आमा समूहको विशाल झाँकीसहितका र्याली निकालिएको थियो । प्रवेश निःशुल्क रहेको यस महोत्सवको मुख्य आकर्षण पर्यटन, संस्कृति र खाना रहेका छन् ।

त्यस्तै यस महोत्सवमा पर्यटकले पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच हेर्न पाउने भएका छन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् ।

अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले बताए ।

प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए ।

पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे ।

पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए ।

यस्तै प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् ।

संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ ।

यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्