काठमाडौ / आइसिसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत मूलपानी मैदानमा शनिबार तय गरिएको नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल खराब मौसमका कारण अझै सुरू हुन सकेको छैन। बिहान साढे ९ बजेका लागि तय गरिएको खेलको टस समेत वर्षाका कारण सम्भव भएको छैन।
गएरातिदेखि परेको अविरल वर्षाले मैदान भिजाएका कारण टस तथा खेल निर्धारित समयमा सुरू हुन सकेन। शनिबार बिहान पनि पानी परेपछि मैदान अझै नखुलेको हो। हाल मौसम खुलेको भए पनि मैदान भिजेकाले खेल सुरू गर्न कठिनाइ भएको आयोजकले जनाएको छ।

त्यस्तै, मौसम पूर्वानुमानअनुसार आज दिउँसो काठमाडौंमा पुनः वर्षाको सम्भावना देखिएको छ, जसले गर्दा खेल हुने सम्भावना अझ चुनौतीपूर्ण बन्दै गएको छ।
नेपाल र अफगानिस्तानले प्रतियोगितामा समान तीन-तीन खेल जितेका छन्। तर रनरेटको आधारमा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ। यदि वर्षाका कारण खेल रद्द भए, अफगानिस्तानले सिधै यू-१९ विश्वकपको टिकट हात पार्नेछ भने नेपालले विश्वकप यात्रा गर्ने सुनौलो अवसर गुमाउनेछ।













