काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा सक्रिय हुन सुझाव दिएका छन्। उनले हृदयेन्द्रलाई राजा बन्ने सपनाबाट टाढा रहन पनि चेतावनी दिएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सुरक्षा पन्तजस्तो कलाकारले भन्नुभएको कुरा एकदम सकारात्मक हो – राम्रो अनुहार छ, अभिनय क्षेत्रमा लाग्न सकिन्छ भनेर। त्यसमा आक्रोश देखाउनु र गाली गर्नु गलत हो।”
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्र शाहको व्यक्तित्वको प्रशंसा गर्दै उनलाई फिल्म क्षेत्रमा आउन प्रेरित गरेकी थिइन्। तर, उनको भनाइ सामाजिक सञ्जालमा आलोचित भएको थियो। यसप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै कलाकारमाथि हुने अनावश्यक आलोचनालाई दुःखद् बताएका छन्।
प्रधानमन्त्री ओलीले देशमा बढ्दो विकृति र विभाजनको वातावरणलाई चिर्न कला र संस्कृति क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनले थपे, “म पनि सुझाव दिन्छु, हृदयेन्द्रले कला र सिर्जनशीलतामा रुचि देखाउने हो भने भविष्य राम्रो हुन्छ। अब राजा बन्ने सपना देखेर जीवन बिताउनु भनेको भ्रममा बाँच्नु हो।”
यो अभिव्यक्तिसँगै प्रधानमन्त्री ओलीले नेपाली समाजमा कलाकारप्रतिको सम्मान र सकारात्मक सोच बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।











