पर्वत ।।
पर्वतमा राष्ट्रिय युवा संघको अधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा उत्पन्न विवाद झडपमा परिणत भएको छ।
झडपका कारण नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
एमाले पर्वत जिल्ला कार्यालयमा अधिवेशनका लागि बोलाइएको बैठकमा दुई पक्षबीच मतभेद देखिएपछि झडप भएको हाे ।
स्राेतका अनुसार गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो ।
स्राेतका अनुसार गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको बताइएको छ ।
राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने तय भइसकेकाे छ । यस विषयमा जानकारी दिन मंगलबार पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे थियाे ।
त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।