पोखरा/ राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो। सुवेदीले राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
उनका अनुसार आन्दोलन शान्तिपूर्ण हुनेछ र आम जनताको सहभागितासहित देशव्यापी रूपमै सञ्चालन गरिनेछ।
जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो।
संयुक्त जनआन्दोलन समितिले सबै समर्थकलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।











