लोडसेडिङ होइन, प्राविधिक गडबडी : कार्यकारी निर्देशक शाक्यको प्रष्टोक्ति
  • प्रमुख खबर

पोखरा/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पछिल्लो समय देखिएको विद्युत आपूर्तिको समस्यालाई लोडसेडिङसँग तुलना गर्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले हालैको विद्युत अवरोध मौसमजन्य कारण र प्राविधिक समस्या भएको स्पष्ट पार्दै यसलाई लोडसेडिङ भन्नु पूर्ण रूपमा भ्रामक र तथ्यहीन भएको बताए।

उनले भने, “ढल्केवर–मुजफरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइनमा दुवै सर्किट एकै साथ अवरुद्ध भएपछि समस्या उत्पन्न भयो। उच्च वेगको हावाहुरीका कारण संरचनामा क्षति पुग्दा आपूर्ति अचानक रोकिएको हो।”

शाक्यका अनुसार सो आपूर्ति रोकिएपछि नेपालको आन्तरिक प्रणालीमार्फत विद्युत आपूर्ति स्थायीत्वमा राख्न प्रयास गरिए पनि बेलुकाको चाप उच्च भएकाले त्यसमा पूर्ण सफलता मिलेन।

रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया र कुशहवा–कटैया १३२ केभी लाइनमार्फत अन्य स्रोतबाट आपूर्ति गर्न खोजिए पनि मागभन्दा उत्पादन कम रहेकाले प्रणाली सन्तुलनमा राख्न गाह्रो भएको उनले बताए।

कार्यकारी निर्देशक शाक्यले यस्ता समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्राधिकरणले मध्यकालीन र दीर्घकालीन योजना तयार पारेर कार्य अघि बढाइरहेको समेत जानकारी दिए।

अन्त्यमा, उनले सर्वसाधारणलाई लोडसेडिङको दिन फर्किएको भन्ने भ्रममा नपर्न आग्रह गर्दै, यस्ता समस्याको समाधानमा नेपाल विद्युत प्राधिकरण प्रतिबद्ध रहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्