फागुन २९, पोखरा ।।
पोखराको राजनीतिक इतिहासका एक धरोहर, पूर्व नगर प्रमुख कृष्णबहादुर थापाको अप्रत्याशित निधनले यतिबेला पोखरा स्तब्ध बनेको छ।
नेकपा एमाले कास्कीका प्रभावशाली नेताका साथै जिल्ला इन्चार्ज समेत रहेका थापाको हिजो अचानक मस्तिष्कघातबाट निधन भएको थियो ।
थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालीकाले आइतबार महानगरअन्तर्गतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
शुक्रबार(आज) एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । यद्यपि स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा र विद्यालयका पूर्वनिर्धारित परीक्षाहरू भने सुचारु रहनेछन्।
यस्तै महानगरद्वारा जारी गरेको सूचनामा तत्कालीन पोखरा उप–महानगरपालिकाका नगर प्रमुख रहेका थापाको असामयिक निधनले महानगरलाई स्तब्ध बनाएको भन्दै उनको योगदानको उच्च कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरिएको छ।
नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा फागुन २८ गते बिहीबार हालै सम्पन्न निर्वाचनको मत परिणामलाई लिएर नेताहरूबीच समीक्षा र छलफल चलिरहेको थियो।
राजनीतिमा सधैँ इमानदार र जिम्मेवार देखिने थापाले उक्त बैठकमा गम्भीर भावका साथ भनेका थिए— “पार्टीले व्यहोरेको हारको जिम्मेवारी मैले पनि लिनुपर्छ, तर मेरो शरीरमा एक मुठी श्वास रहुन्जेल म एमालेका लागि लागिरहनेछु।”
उनले यी शब्दहरू बोलेको केही समयमै मस्तिष्कघात भई ढलेका थिए। उनी ढल्न साथ तत्काल मणिपाल शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकहरूले बचाउन भने सकेनन्। अन्त उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
स्वर्गीय थापा वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएर २०५९ सम्म पोखराको नेतृत्व सम्हालेका थिए।
प्रजातन्त्रको पुनःस्थापनापछि पोखरालाई पर्यटकीय र आधुनिक शहरका रूपमा व्यवस्थित गर्न उनले चालेका कदमहरू आज पनि पोखराबासीहरुले सम्झिने गर्छन् ।
लामो समय कम्युनिस्ट आन्दोलनमा जीवन बिताएका थापा निष्ठा र सादगीका पर्याय पनि मानिन्थे। उनको निधनले कास्कीको राजनीतिमा मात्र नभई समग्र गण्डकी प्रदेशकै विकास अभियानमा एउटा रिक्तता पैदा गरेको विभिन्न राजनीतिक दलका नेताहरूले बताएका छन् ।













