जित-हारको अंकगणितभित्र भेटिएका झन्डै ५ हजार बेवारिसे मत
  • सरिता गुरुङ

फागुन २९, पोखरा ।।
देशैभर प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ। जसअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रको परिणाम समेत आइसकेको छ ।

मत परिणाम अनुसार कसले विजयी हासिल गरे र कसले पराजय भोगे भन्ने कास्कीका जनता स्पष्ट भइसकेका छन् । तर यी सबै जीत र हारको अंकगणितकाबीच एउटा यस्तो तथ्याङ्क लुकेको छ, जसले हाम्रो लोकतान्त्रिक साक्षरतामाथि पूर्न:प्रश्न चिन्ह खडा गरेको छ ।

फागुन २१ गते लोकतन्त्रको उत्सवमा सहभागी हुन कास्कीका तीनवटै निर्वाचन क्षेत्रका मतदाताहरूमा जुन उत्साह देखियो, त्यो प्रशंसनीय थियो। यही उत्साहका बीच यसपटक अघिल्लो निर्वाचनको भन्दा १२ हजार ६ सय १९ मत बढी समेत खसेको थियो । तर जब मत गणनाको लागि मतपेटिका खोलिए, त्यस भित्र भएका बेवारिसे मत(बदर मत)ले कास्कीमा भएको निर्वाचन साक्षरतामा विगतको तुलनामा सुधार त देखायो, तर पूर्ण सफलता पाउन अझै धेरै अभ्यास र सचेतनाको खाँचो रहेको स्पष्ट संकेत गरेको छ।

प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनारायण न्यौपानेले यसपटक कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट ४ हजार ६९८ मत बदर भएको जानकारी दिएका छन्।

संख्यात्मक रूपमा यो तथ्याङ्क केवल एक अंक जस्तो देखिएला, तर लोकतन्त्रको कसीमा यो झन्डै ५ हजार मतदाताले आफ्नो प्रतिनिधि चुन्न लामो लाइनमा बसी खसालिएको त्यो अमूल्य मत खेर गएको हो ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा १ एक लाख ९१ हजार ४२५ मत खसेकामा १ लाख ८६ हजार ७२७ मत सदर भएको सूचना अधिकारी न्यौपानेले बताए। सदर मतको २ दशमलव ४५ प्रतिशत मत बदर भएको उनले जानकारी दिए।

क्षेत्रगत रुपमा तथ्याङ्कलाई हेर्ने ही भने कास्की–१ मा १ लाख १६ हजार ८७८ मतदातामध्ये जम्मा ७१ हजार ८०६ मत खसेको थियो । यसमा ६९ हजार ९५४ मत सदर हुँदा १ हजार ८५२ मत बदर भएको छ ।

यसैगरी क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेकोमा जम्मा ५३ हजार ३ सय ९५ मत खसेको थियो। यसमा ५२ हजार १८७ मत सदर हुँदा १ हजार २०८ मत बदर भयो ।

यस्तै क्षेत्र नं ३ मा १ लाख ८ हजार ५५१ मतदातामध्ये ६६ हजार २२४ मत खसेको थियो । खसेको मातमध्ये ६४ हजार ५८६ मत सदर हुँदा १ हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले उपलब्ध गराएको तथ्याङ्ले देखाएको छ।

विषेशगरी निर्वाचन कार्यालयले मतदानमा त्रुटि कम गरी बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यसहित फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा सघन मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थियो। तर बदर मत परिणामको नतिजाले उक्त अभियानको प्रभावकारितामाथि नै पुन:प्रश्न उठाएको छ ।

मतदाता शिक्षाका लागि टोल – टोलमा र गाउँ-गाउँमा स्वयंसेविका खटाइएको भएपनि सो कार्यक्रम त्यति प्रयाप्त नभएको बदर मतको संख्याले पनि देखाएको छ।

सूचना अधिकारी न्यौपानेका अनुसार मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका प्राविधिक कारणले मतपत्र बदर भएका छन् ।
यसले मतदाताको इच्छा हुँदाहुँदै पनि प्राविधिक ज्ञानको अभावमा उनीहरूको मताधिकार खेर गएको स्पष्ट पारेको छ। अर्थात मतदाताले मतदान सम्बन्धी शिक्षा त पाए तर मतदानको सही सीप नपाएको देखिएको हो ।

हुनत: यसपटकको निर्वाचनमा मात्र होइन मत बदर भएको  वि.सं २०७९ को निर्वाचनमा अहिलेको भन्दा पाँच प्रतिशत बढी मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि जिल्लाका तीनवटै क्षेत्रअन्तर्गत कुल २ लाख ९१ हजार ५६८ मतदाता रहेकमा १ लाख ७८ हजार ८०६ मत खसेको थियो । यसमा १ लाख ७० हजार ३४४ मत सदर हुँदा ८ हजार ४६२ मत बदर भएको थियो ।

क्षेत्रगत रुपमा १ मा कुल मतदाता १ लाख १० हजार ७१५ रहेकोमा ६८ हजार १८४  मत खसेको थियो, जसमा ६५ हजार १३७ मत सदर हुँदा ३ हजार ४७ मत बदर भएको थियो ।

क्षेत्र नं २ मा कुल मतदाता ७९ हजार १३८ रहेकोमा ४९ हजार ३४१ मत खसेको थियो । यस क्षेत्रमा खसेको मतमध्ये ४७ हजार १५६ सदर मत हुँदा २ हजार १२८ बदर भएको थियो।

यस्तै क्षेत्र नं ३ मा १ लाख १ हजार ७१५ मतदातामा जम्मा ६१ हजार २८१ मत खसेको थियो । खसेको मतमध्ये यस क्षेत्रमा ५८ हजार ५१ मत सदर हुँदा ३ हजार २३० मत बदर भएको थियो।

सूचना अधिकारी न्यौपानेका अनुसार २०७९ को आम निर्वाचनमा भएको बदर मतको संख्या यसपटक घटेर २ दशमलव ४५ प्रतिशतमा झरेको छ। अर्थात अघिल्लो निर्वाचनको बदर मतको संख्या यसपटक घटेर ३ हजार ७६४ मत कम भएको हो । यद्यपि, अझै पनि पूर्ण रूपमा मतदाता शिक्षा कार्यक्रम भने आफूहरूले सोचेअनुरुप सबै वडामा पुगेपनि प्रभावकारी ढंगले सफल हुन नसकेको उनी स्वीकार गर्छन्।

यसले के स्पष्ट पारेको छ भने जबसम्म मतदाताले कसलाई भोट हाल्ने मात्र नभई कसरी भोट हाल्ने भन्ने कुरामा स्पष्ट ज्ञान हुँदैन तबसम्म लोकतन्त्रको यो उत्सव पूर्ण रूपमा सफल हुन नसक्ने प्रष्ट संकेत गरेको छ। यस समस्यालाई पूर्ण रूपमा समाधान गर्न पुरानो ढर्राको प्रचारप्रसार शैली मात्र पर्याप्त छैन समय सापक्षे कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि प्रमाणित गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्