पाेखरा ।।
मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ ।
बैतडीको पाटनबाट शुरु उक्त अभियान अन्तर्गत
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली कास्की प्रवेश गर्ने भएको हो ।
सो टोलीलाई कास्कीकाे नयाँ पुलमा स्वागत गर्ने तयारी भएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।
अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा गएर जनसंम्वाद गर्ने कार्यक्रम तय भएको पनि उनले बताएका छन् ।
यस्तै जेठ १० गते पोखराको चिप्लेढुंगामा नेकपा माओवादी केन्द्रले वृहत जनसभा आयाेजना गर्ने तयारी गरिएको पनि कास्की इन्चार्ज अधिकारीले बताए ।
उनका अनुसार जनसभा अगाडि पोखराको पृथ्वीचोक र सिर्जनाचोक गरेर दुई स्थानबाट र्याली निकालिनेछ । उक्त र्याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगामा पुगेर जनसभामा परिणत हुने उनले बताए ।
त्यस दिन हुने जनसभालाई अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेकाे नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
साे जनसभालाई वृहद बनाउन वाईसिएल, विद्यार्थी, महिला, मजदुर लगायतका जनवर्गीय र भातृसंगठनहरु लागि परेको पनि संयोजक लामिछानेले बताए ।
यही जेठ २ गते बैतडीको पाटनबाट शुरु भएको यस अभियान डडेलधुरा, दिपालय, अछाम, दैलेख, कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी, मुसिकोट लगायतमा सम्पन्न भइसकेको छ ।
साेही अभियान अन्तर्गत नै याे टाेली कास्की प्रवेश गर्ने भएको हाे ।
यस अभियानकाे मुख्य उद्देश्य मध्यपहाडी लोकमार्गको विकास, प्रभावकारिता, तथा जनचेतना अभिवृद्धि गर्नु रहेकाे नेकपा माअाेवादी केन्द्रले जनाएको छ ।
त्यस्तै अभियानले स्थानीय स्तरमा जनसंवाद, जनसभा, तथा विकाससम्बन्धी छलफल मार्फत नागरिकलाई सक्रिय सहभागिता गराउने प्रयास गरिरहेको पनि बताइएकाे छ ।










