पोखराका सडकमा खाल्टाको कहर :चालक र यात्रीको ज्यान जोखिममा,सम्बन्धित निकाय हेरेको हेरेइ

स्थानीय ट्याक्सी चालक भरत श्रेष्ठ भन्छन् “खाल्टो टार्न खोज्दा सिधै अर्को गाडीमा ठोक्किन्छ, न टार्न सकिन्छ, न गाडी रोक्न सकिन्छ। हामी दिनहुँ डराउँदै सवारी चलाइरहेका छौँ।”

  • सन्तोष पराजुली

पोखरा/ पोखरा जस्तो पर्यटकीय शहरको प्रमुख सडकहरूमा खाल्टाको समस्या अहिले भयावह अवस्थामा पुगेको छ। वर्षा याममा झनै जोखिम बढेको छ, जहाँ खाल्टाहरू पानीले भरिएर देखिन छोड्छन् र यात्रु तथा चालकहरू अन्दाज गर्न नसकेर दुर्घटनामा पर्ने खतरा बढेको छ।

हिजोआज वर्षाका कारण सडकमा बनेका गहिरा खाल्टाहरू पानीले भरिन्छन्। ती खाल्टाहरू सतहमा सामान्य देखिए पनि भित्र गहिरो हुने भएकाले मोटरसाइकल, स्कुटर वा साइकल चलाउनेहरूले अन्दाज गर्न नसकी दुर्घटनामा पर्ने खतरा अत्यधिक बढेको छ। कति सडकको छेउमा फुटपाथ नभएकाले  पैदल यात्रुहरू पनि सडकमै हिँड्नुपर्ने बाध्यता छ जसका कारण पैदलयात्रुहरू पनि खाल्टोमा परेर लड्ने, खुट्टा मोलिने वा चोटपटक लाग्ने घटनाहरू आम भइसकेका छन्।

भैरव टोल, सिद्धार्थ चोक, रानीपौवा, फुलबारी, गणेश टोल,अर्चलबोट,अमरसिंह चोकलगायत शहरका व्यस्त सडकहरूमा गहिरा खाल्टाहरू छ्यापछ्याप्ती देखिन्छन्। यिनीहरूमध्ये केही स्थानहरू यस्ता छन्, जहाँ दैनिक हजारौंको संख्यामा सवारीसाधन ओहोरदोहोर गर्छन्। ती स्थानमा खाल्टाको जोखिमले सवारी दुर्घटनाको संख्या झनै बढाइरहेको छ।स्थानीय ट्याक्सी चालक भरत श्रेष्ठ भन्छन् “खाल्टो टार्न खोज्दा सिधै अर्को गाडीमा ठोक्किन्छ, न टार्न सकिन्छ, न गाडी रोक्न सकिन्छ। हामी दिनहुँ डराउँदै सवारी चलाइरहेका छौँ।”

समस्या किन दोहोरिन्छ?
यो समस्याको जरा धेरै गहिरो छ। सडक खन्ने, पाइप ओछ्याउने जस्ता कार्यहरू गरिए पनि मापदण्डअनुसार मर्मत नहुनु समस्याको मुख्य कारण हो।‘हाम्रो काम खाल्टो खन्ने र पाइप ओछ्याउने मात्र हो’ भन्ने सोच राख्ने निकायहरू खाल्टो खनेपछि त्यही माटोले हल्का रूपमा पुर्ने गर्छन्। वर्षातले त्यो माटो बगाउँछ वा उक्लिंदै जान्छ र सडक झन् कमजोर हुँदै जान्छ। यस्तै प्रक्रियाले खाल्टाहरू झन ठूलो, गहिरो र खतरनाक बन्छन्।सडक बनाउने निकायको त झन् त्यहाँ आँखा जाँदै जाँदैन।आँखा गइहाल्यो भने पनि खाल्टा र सडक पिच गर्नुको सट्टा माटोले पुरेर छोडिदिन्छ जसका कारण यात्रुहरूले झन् धुलोको र हिलोको पनि शास्ती बेहोर्नुपरेको छ । त्यही खाल्टोका कारण दुर्घटनामा परेर कसैको ज्यान गयो भने मात्र सम्बन्धित निकायले ती खाल्टा पुर्ला नभए त्यो पनि आशा छैन।

कुरा खनिएका खाल्टाको मात्र होइन, सडक कमजोर भएर परेका खाल्टाखुल्टीहरू झन् प्रशस्तै छन् यहाँ जुन दुर्घटनाका मुख्य कारण हुन्। खाल्टो देखेर खाल्टोलाई टार्न खोज्दा अर्कोसँग ठोकिएर दुर्घटना हुने खतरा, पानी परेको बेलामा पानी भरिएर ती खाल्टा नदेखिने हुँदा त्यही खाल्टोमा परेर दुर्घटना हुने खतरा। पानी परेको रातको अध्यारोमा कस्तो होला अवस्था हामी आफै कल्पना गर्न सक्छौं।देख्दा र सुन्दा सामान्य लाग्न सक्ला तर यी खाल्टाहरुले कसैको ज्यानै पनि लिन सक्छ।

पर्यटन शहरको गरिमा संकटमा
पोखरा पर्यटकहरूको पहिलो रोजाइ हो। तर यही सहरमा पर्यटकले सवारी चढ्दा गहिरो खाल्टाले झट्का खाने, सडकका छेउमा हिँड्दा फोहोर पानीले लतपतिने वा फोहोर सडक देख्दा अचम्म मान्ने अवस्था छ।यस्ता अनुभवले न केवल उनीहरूको भोगाइमा नकारात्मक असर पार्छ झन्  देशकै छविमा पनि धक्का पुर्‍याउँछ।

जनता चुपचाप पीडामा,सम्बन्धित निकाय हेरेको हेरेइ

जनता केही आवाज त उठाउँछन्ज, तर जनताको मिठासपूर्ण आवाज सम्बन्धित निकायलाई सुन्न गाह्रो हुन्छ।जबसम्म जनता आफ्नो ठाउँबाट बेजोड आवाज उठाउँदैनन् तबसम्म सम्बन्धित निकाय कानमा तेल हालेर सुतिरहन्छ।भिआइपी गाडीमा सवार गर्ने र हेलिकप्टरमा उड्नेले जनताको यो पीडा देख्दैन र देखिहाले पनि बुझ्दैन र बुझिहाले पनि छिटो र छरितो काम गरिदिँदैन। यस्तै छ देशको अवस्था, जबसम्म जनताले आफ्नो ठाउँबाट आवाज उठाउँदैन, सम्बन्धित निकाय कानमा तेल हालेर सुतिरहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्