पोखरा //
संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यसहित देशव्यापी आन्दोलनको घोषणा गरेको छ। बुधबार सम्पन्न बैठकमा समितिमा आबद्ध ४५ राजनीतिक दल, समूह र अभियानहरू सहभागी भए। बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनलाई काठमाडौँ केन्द्रित मात्र नराखी देशका प्रमुख सहरहरूसम्म विस्तार गरिने उल्लेख गरिएको छ।
संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनको निरन्तरता दिइनेछ। त्यस्तै, प्रमुख सहरहरूमा सभा, जुलुस, धर्ना तथा जनप्रदर्शन गरिनेछ।
स्थानीय तहसम्म समिति विस्तार गर्दै आन्दोलनलाई थप प्रभावकारी बनाउने योजना बनाइएको छ। जिल्ला तहमा पूर्वराजा समर्थक र राष्ट्रवादी युवाहरूको समुह निर्माण गरिनेछ। देशका विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गरी अन्ततः पुनः काठमाडौं केन्द्रित आन्दोलन गरिने रणनीति तय गरिएको छ।
पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा भावी आन्दोलनको स्वरूप परिमार्जन गरिने पनि समितिले जनाएको छ।












