“ग्रिन पोखरा, क्लिन पोखरा” परियोजना अन्तर्गत २ लाख २६ हजार बिरुवाहरू लगाइने
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियानकाे शुभारम्भ गरिएको छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न “ग्रिन पोखरा क्लिन पोखरा” परियोजना अन्तर्गत वृक्षारोपण अभियानको शुभारम्भ गरिएको हाे ।

बुधबार विहान पोखरा-२५ हेमजा राजमार्गकाे डिभाइडरमा कल्की, धुपी लगायत बिरुवाहरू लगाएर महानगर प्रमुख धनराज आचार्यले उक्त अभियानकाे शुभारम्भ गरेका हुन् ।

उक्त अभियानमा नगर प्रमुख आचार्यसँगै उप-प्रमुख मन्जुदेवि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेताहरू राधिका शाही योगी, पूर्ण कुमार गुरुङ र नागरिक समाजका अगुवा राम बहादुर पौडेल लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

यस अभियानका क्रममा पोखरा महानगरपालिका क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइनेछ ।

विषेशगरी ५३ औं विश्व वातावरण दिवसको अवसर पारेर “ग्रिन पोखरा क्लिन पोखरा” अभियान अन्तरर्गत दुई लाख २६ हजार विरुवा रोप्ने घोषणासहित सुरु भएको यस कार्यक्रम अन्तर्गत हेम्जादेखि फेदीसम्म मात्र २० मिटरको फरकमा एक हजार १ सय विरुवा रोपिनेछन् ।

महानगर प्रमुख आचार्यका अनुसार बिरुवा रोप्ने मात्र नभई रोपिएको विरुवालाई संरक्षण गर्नेगरी अभियान चलाइएको बताएका  छन् ।

उनले वातावरणीय सन्तुलन कायम गर्नका लागि वृक्षारोपण अनिवार्य रहेको धारणा राखे । उनले यस कार्यक्रमको अवसरमा याम्दीदेखि फेदीसम्म (बागलुङ हाइवेको करिब १२ किलोमिटर) सडक खण्डमा विभिन्न प्रजातिका १ हजार १ सय बिरुवा लगाइने बताएका छन् ।

उक्त सडक खण्डको डिभाइडरमा वेगमवेली जातको ५ सय, धुपी २ सय ५० र कल्की जातको ३ सय ५० गरेर एक हजार १ सय विरुवा रोपिने भएको हो ।

प्रमुख आचार्यले वातावरण तथा पर्यावरणीय सुरक्षा र प्रवर्द्धनको लागि सुरुवात गरिएको यस अभियानमा सक्रिय सहभागिता सहित हातेमालो गर्न सम्पूर्ण पोखराबासिमा अनुरोध समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्