भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा प्रतिनिधिसभा बैठक स्थगित
  • प्रमुख खबर

काठमाडौं ।।

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि स्थगित भएको हो ।

शुक्रबार सूचना टाँसेर अर्को बैठक आइतबारका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभा बन्धक भएको हो । यस भन्दा अगाडि पनि प्रतिनिधिसभामा बैठक चल्न सकेको थिएन ।

भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई छापा मारी नियन्त्रणमा लिएपछि यो विवाद सुरु भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायतले राजनीतिक संलग्नताविना अध्यागमन कार्यालयबाट यस्तो कार्य हुन नसक्ने भन्दै नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्