गण्डकी प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा समावेशी प्रतिनिधित्व नभए ललितकलाकर्मीहरुले विद्रोहको गर्ने
  • प्रमुख खबर

पोखरा ।।

गण्डकी प्रज्ञा प्रतिष्ठानको गठनमा ललितकलाकर्मीहरुको समावेशी प्रतिनिधित्व नभए ललितकलाकर्मीले विद्रोह गर्ने चेतावनी दिएका छन्।

ललितकलाकर्मीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको कुलपति, उपकुलपति र सदस्य सचिवमध्ये कम्तीमा एउटा पदमा यस क्षेत्रको कलाकारहरूको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गर्दै यस्तो चेतावनी दिएका हुन्।

यदि प्रदेश सरकारले यस मागलाई बेवास्ता गरे उनीहरू आन्दोलनमा उत्रने सो विज्ञप्तिमार्फत भनिएको छ।

ललितकलाकर्मी कलाकारहरू पार्वती अधिकारी, मिलन खत्री, शिव शिर्पाली, तीर्थ सुवेदी, उज्ज्वल नेपाली, बाबुराम बस्ताकोटी, रिकबहादुर गुरुङ, नारायणबहादुर गुरुङ, प्राज्ञ नगेन सिंह ठकुरी लगायत सृजनशील कलाकार समूह, नेपाल व्यवसायिक कलाकार संघ, नेपाल कमर्शियल आर्टिष्ट संघ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, महेश आचार्य (केन्द्रीय सदस्य, नेपाल ललितकला लोकतान्त्रिक संघ)को संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिममा भनिएको छ, “संघीय राज्य प्रणालीको मर्म अनुसार प्रतिष्ठानलाई भाषा तथा साहित्य, संगीत तथा नाट्यकला र ललितकला गरी तीन प्रमुख विधागत क्षेत्रमा विभाजन गरिनुपर्ने माग गरेका छन् ।

उनीहरुले प्रतिष्ठानको २४ सदस्यीय प्रज्ञा सभाका सदस्यहरूको नियुक्ति पनि यी तीनै विधागत क्षेत्रबाट समानुपातिक प्रतिनिधित्वका आधारमा गरिनुपर्ने र कुलपति, उपकुलपति र सदस्य सचिवजस्ता प्रमुख पदहरूमा पनि यही विधागत सन्तुलन कायम गरिनुपर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

वि.सं. २०७७ सालमा पहिलपटक गण्डकी प्रज्ञा प्रतिष्ठान गठन हुँदा समेत एक जना पनि ललितकलाकर्मीलाई समावेश नगरी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको भन्दै यस विरुद्ध पनि उनीहरूले विज्ञप्तिमार्फत घोर भत्र्सना गरेका छन्।

विगतका त्रुटिलाई प्रदेश सरकारले सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र नियुक्ति प्रक्रियामा विधागत सन्तुलन तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिई सबै कला र साहित्यका विधालाई समान रूपमा सम्मान र अवसर प्रदान गर्ने विश्वास प्रदेश सरकारबाट गरिएको उनीहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

त्यस्तै नेपालमा गणतन्त्रको स्थापना पश्चात साबिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई विधागत रूपमा विभाजन गरी तीन प्रतिष्ठानहरू – नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना भएको र ती प्रतिष्ठानले आ-आफ्नो क्षेत्रमा विशिष्टीकरण प्राप्त गरेको उल्लेख गर्दै यदि कुलपति, उपकुलपति र सदस्य सचिवमध्ये कम्तीमा एक पदमा पनि ललितकलाकर्मीको प्रतिनिधित्व नभए विद्रोह गर्ने र प्रज्ञासभा सदस्यमा मात्र सीमित गर्न खोजिए नियुक्ति पत्र नबुझ्ने, शपथ ग्रहण बहिष्कार गर्ने र आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने ललितकलाकर्मी कलाकारहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्