“पोखरा सबै मौसमका लागि” भन्दै असार १५ मा रोपाई महोत्सव हुने
  • सरिता गुरुङ

Oplus_131072

पोखरा ।।
गुँदे ताल लेखनाथ क्षेत्रमा अवस्थित एक प्रसिद्ध पर्यटक स्थल हो। यो ताल पर्यावरण प्रेमी र प्रकृति प्रेमीहरूका लागि प्रकृतिले दिएको सुन्दर उपहार हो ।

पोखराको लेकसाईडबाट मात्र ११ किलोमिटरको दुरीमा यो ताल पर्छ। जैविक विविधताले धनी यस तालमा विभिन्न प्रवासी र आवासीय चराहरू आउँछन्, जसले गर्दा चराचुरुङ्गी प्रेमीहरूको लागि यो अति उयुक्त स्थान हो । यही तालमा २० औं संस्करणको असारे रोपाई महोत्सव हुने भएको छ।

“पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजना र स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा यही असार १५ मा रोपाई महोत्सव हुने भएको हो ।

विशेषगरी यस महाेत्सवले यहाँ आउने पर्यटकलाई पाेखरा सबै माैसमका लागि घुम्न उपयुक्त छ भन्ने सन्देश दिने र पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा यसले थप टेवा पुग्ने विश्वास लिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन् ।

त्यस्तै यस महाेत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयाेग पुर्‍याउने र गुँदेतालकाे साथै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने पनि उनले बताए ।

यस असारे महाेत्सवमा हिले दौड, रोपाइ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकहरुको उपस्थिति समेत रहने महासचिव सापकोटाले बताए ।

वि.सं २०५७ सालमा स्थापना भएको यस परिषद्ले विगत २०६१ सालबाट वर्षेनी असारे रोपाई महोत्सव गर्दै आएको छ ।

यस महोत्सव बाहेक परिषद्ले बर्सेनि विभिन्न महोत्सवहरु समेत आयोजना गर्दै आइरहेको छ। जसअन्तर्गत पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन संसाधनहरूको प्रदर्शन गर्ने पोखरा महोत्सव, कला र संस्कृतिको महोत्सव, पर्यटन प्रवर्द्धन अभियानहरू सञ्चालन र पर्यावरण संरक्षण कार्यक्रमहरू समेत गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्