सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सुविधा फिर्ता गर्ने तयारी
  • प्रमुख खबर

Oplus_131072

काठमाडौं ।।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छोडेयता सरकारले दिने तलब, निवास खर्च लगायतका सुविधा भने लिएकी छैनन् । तर सरकारले पूर्वराष्ट्रपतिको हैसियतले उनको लागि दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा भने तिर्ने गरेको छ ।

यस्तै पूर्वराष्ट्रपतिले पाउने सुविधा अन्तर्गत उनले सरकारले उपलब्ध गराउने सवारी नलिए पनि इन्धन खर्च भने सरकारले नै बेहोर्दै आएको छ।

एक उच्च स्रोतका अनुसार अब उनले ती सबै सेवासुविधा पनि फिर्ता गर्ने तयारीमा रहेको बताएको छ। उक्त स्रोतले बताए अनुसार, आगामी साउन १ गतेदेखि लागू हुनेगरी उनले सबै सेवासुविधा फिर्ताको लागि सरकारलाई पत्र पठाउने तयारी गरेको जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित एक सभालाई सम्बोधन गर्दै आफु सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् ।

विशेषगरी उक्त सभामा उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताउँदै आफू नेकपा एमालेको राजनीतिमा पून जोडिएको घोषणा गरेकी थिइन् ।

नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टीको सदस्यता नवीकरण गरेको समेत उनले बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्