शुक्ला साहित्य प्रतिष्ठानकाे भजन प्रतियाेगिता सफल पार्न हामी सम्पूर्ण पाेखरेलीहरुकाे दायित्व हाे- वडाध्यक्ष पुष्पेन्द्र पाण्डे
  • प्रमुख खबर

पोखरा ।।

पाेखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शुक्ला साहित्य प्रतिष्ठानले आयाेजन गर्ने राष्ट्रिय कृष्ण भजन प्रतियाेगिता भव्य,सभ्य र संस्कृतिक रूपमा सम्पन्न गराउन हामी सम्पूर्ण पाेखराबासीकाे दायित्व रहेको बताए । पाेखरा १९ काे वडाकार्यालय सभाहलमा प्रतिष्ठानद्वारा बुधबार आयाेजित आमा समुह तथा विभिन्न सामाजिक संघ-संस्थाहरुसंगकाे अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पाण्डेले कार्यक्रमकाे उद्घाटन पछि कार्यक्रममा बाेल्दै साे कुरा बताएका हुन् । पाण्डेले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्य र कलाकाे क्षेत्रमा गर्दै आएका उल्लेख्य कार्यहरुकाे प्रशंसा गर्दै संस्थाले विगत २५ वर्षदेखि गर्दै आएकाे जन्माष्ठमी विशेष कृष्णभजन प्रतियाेगिताले यस ठाउँकाे धार्मिक महत्वलाई बढाएकाे र प्रतियोगिता थप व्यवस्थित बनाउन हामी सबै एकढिक्काे भएर लाग्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेखरा १९ का स्थानीय आमा समूह, विभिन्न सामाजिक संघ-संस्था, संस्थाका आजीवन सदस्य तथा सामाजिक व्यक्तित्वहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दीपेन्द्र बानियाँले कार्यक्रमकाे उध्येश्य माथि प्रकाश पार्दै यस वर्षकाे कृष्णभजनलाई विगतका वर्षहरु भन्दा थप व्यवस्थित बनाउन संस्था जुटिरहेकाे बताए । त्यस्तै कार्यक्रममा बाेल्दै २६ औ कृष्ण भजन प्रतियाेगिताका अर्थ उप समिति संयाेजक सुमनराज पाैडेलले प्रतियाेगिता आयाेजनका लागि आवश्यक आर्थिक पक्षकाे जानकारी गराए । प्रतिष्ठानका पूर्व कार्यसमिति सदस्य कमला कार्की तथा रामचन्द्र आचार्यले वर्तमान कार्यसमितिले विगतका प्रतियाेगिताबाट देखिएका विभिन्न सुधारात्मक पक्षहरुलाई थप व्यवस्थित गर्नु पर्ने कुरामा जाेड दिए भने अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले प्रतियाेगिता संचालन समय अवधि र प्रतियाेगी समूहहरुकाे व्यवस्थापन पक्षलाई थप व्यवस्थित गर्नु पर्ने कुरामा जाेड दिए ।

२६ औ राष्ट्रिय कृष्णभजन प्रतियाेगिता महिला तथा सामाजिक संघ-संस्था उपसमिति संयाेजक शारदा बस्नेतकाे संयाेजकत्वमा भएकाे कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिन् भने कार्यक्रमकाे संचालन सचिव रामप्रसाद पाैडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्