पोखरा //
लोकप्रिय हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को छवि मार्फत दर्शकमाझ लोकप्रिय बनेकी अभिनेत्री लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी उनी शुक्रबार राति निधन भएको हो।
उनी ‘मेरी बास्सै’ मा सीताराम कट्टेलद्वारा अभिनित पात्र ‘खड्काजी’की श्रीमतीको रूपमा छुच्ची र हास्यपूर्ण भूमिकामा देखिँदै आएकी थिइन्, जुन जोडीलाई दर्शकले निकै मन पराएका थिए।
केही महिना अघिदेखि थला परेकी लक्ष्मीलाई स्तन क्यान्सरको समस्या थियो। चार महिना अघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको भए पनि उपचार सम्भव नभएपछि उनलाई घरमै फर्काइएको थियो। घर फर्किएदेखि उनी ओछ्यानमै थिइन्।
लक्ष्मी श्रेष्ठले “हरिबहादुर मदनबहादुर” ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता सिरियलहरूमा अभिनय गर्दै हास्य अभिनयमा आफ्नो पहिचान बनाएकी थिइन्। त्यसैगरी, उनले थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्, जसमा ‘लक्का जवान’ चलचित्र उल्लेखनीय छ।
बिरामी अवस्थामै उनले आफूसँग सहकार्य गरेका कलाकारहरूसँग भेट्ने इच्छा व्यक्त गरेकी थिइन्। त्यसपछि कलाकार सुशीला निरौला, सीताराम कट्टेल, कुञ्जना घिमिरे, राजाराम पौडेल, रवी डंगोल, सुरवीर पण्डित लगायतले उनलाई घरमै पुगेर भेट गरेका थिए।
नेपाली हास्य जगतले एक अनुभवी र लोकप्रिय कलाकार गुमाएको छ। लक्ष्मी श्रेष्ठको योगदान नेपाली टेलिभिजन तथा सिने क्षेत्रमा सदैव सम्झनलायक रहनेछ।











