पोखरा//
भोजपुर जिल्लामा एक दर्दनाक पारिवारिक घटना सार्वजनिक भएको छ। भोजपुर नगरपालिका–२ हेलौछाका ३२ वर्षीय राजेन्द्र राईले धोदलेखानीस्थित आफ्ना ससुरा, सासु, पत्नी र सालोको निर्मम हत्या गरेका छन्।
शनिबार राति करिब १:१५ बजे राजेन्द्रले स्वयं प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूले चार जनाको हत्या गरेको र पक्राउ गर्न आउन अनुरोध गरेका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ।”
प्रहरी सहायक निरीक्षक अशोक कुमार खवासको टोली तत्कालै घटनास्थल पुगेको थियो। घटनास्थलमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, १६ वर्षीया पत्नी र १० वर्षीय सालोको शव फेला परेको प्रहरीको जानकारी छ।
हत्यापछि राई करिब ५ किलोमिटर टाढा, वडा नं. १ को हर्बुभञ्ज्याङ भन्ने स्थानमा घाइते अवस्थामा फेला परेका थिए। उनको पेटमा धारिलो हतियारको चोट लागेको छ र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक बयान अनुसार, राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए र भनाइ अनुसार शनिबार राति सासुले चक्कु प्रहार गरेपछि रिसमा चार जनाको ज्यान लिएका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिएका छन्।














