मौसम पूर्वामुमान: देशभर वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । गएरातिको वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो पानी परेको हो । बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ ।

कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ ।

काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पनि पानीको सतह खतराको तह पार गरिसकेको छ । बल्खु, मनोहरा, धोबी खोला ( कपन र चाबहिल क्षेत्र ) मा पनि पानीको बहाव बढेकोले नदी किनार क्षेत्रका बासिन्दा र सडकमा  यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।

सिन्धुपाल्चोकको धाप गोब्रे मनेखार्क क्षेत्रमा मध्यम वर्षा भएकाले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्नसक्ने भन्दै मेलम्ची बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा पानीको सतह बढिरहेकोले वरिपरिको स–साना खोलामा आकश्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ । तनहुँ र चितवनः विमलनगर, सखर, बन्दीपुर, त्रिशुली (कालीखोला), शक्तिखोर, नारायणी फिल्ड अफिस क्षेत्र आसपासमा मध्यम वर्षा भएकाले आकश्मिक बाढीको जोखिम छ ।

कैलालीः बुढीआम वर्षामापन केन्द्र आसपास स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्