काठमाडौं ।।
प्रतिनिधिसभाको बुधबार(आज) बसेकाे बैठक पनि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै पार्टीले आजकाे बैठक समेत बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिएका थिए ।
सांसद गाैतमले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकाले यसअघिका बैठक जस्तै आजको बैठक पनि बहिस्कार गर्ने बताइन् ।
भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा नेपाली नागरिकलाई पठाउने नाममा ठगीका साथै अनियमितता भएको विवादले पछिल्लो समय संसद तातिरहेकाे छ ।
यस प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधि सभाका बैठक लगातार बहिष्कार गरिरहेका छन्।










