गोरखा//
गोरखामा ‘गोरखा डान्स च्याम्पियन’ नामक कार्यक्रम संचालन गरेर अभिभावकसँग रकम असुलेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कञ्चन गाउँपालिकाकी २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेका छन्।
उनीहरूले आरुघाटमा नाच प्रतियोगिता आयोजना गरेर बालबालिकालाई सहभागी गराई, फाइनल जित्नका लागि भोटिङ कार्ड किनाउन अभिभावकलाई प्रलोभन देखाएको प्रहरीले जनाएको छ। ‘प्रत्येक कार्ड १०० रुपैयाँमा बिक्री गर्दै धेरै कार्ड किन्नेले नै बिजेता बन्ने, बिजेताले पुरस्कार र विभिन्न कार्यक्रममा सहभागी हुने’ भनी भ्रम फैलाएर अभिभावकलाई ठगेको गोरखा प्रहरीका नीरिक्षक ध्रुवप्रसाद घिमिरेले जानकारी दिए।
पक्राउ परेकासँग ८९ हजार ७६० रुपैयाँ नगद, काटिएका र नकाटिएका भोटिङ टिकटका ३४ थान प्याड बरामद गरिएको प्रहरीले जनाएको छ।









