ग्राहक लक्षित “प्रथम चाडपर्व उपहार कुपन योजना” श्रावण १५ बाट
  • प्रमुख खबर

श्रावण १४ गते, बुधबार

पोखरा ।। पोखरामा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीहरुले “प्रथम चाडपर्व उपहार कुपन योजना–२०८२” सञ्चालन गर्ने भएका छन् ।

व्यवसायीहरुले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त योजनाबारे जानकारी दिएका हुन् ।

ग्राहक वर्गलाई मध्यनजर गर्दै कास्की जिल्लामा रहेर मोबाइल, टिभी, फ्रिज, घडी लगायतका इलेक्ट्रोक्निस सामानको डिलर, होलसेल, खुद्रा र मर्मत गर्ने व्यवसायीहरुले साउन १५ गतेदेखि पुष १५ गतेसम्म “चाडपर्व लक्षीत उपहार कुपन योजना २०८२” सञ्चालन गर्ने भएका हुन् ।

पोखरा इलेक्ट्रोक्निस तथा मोबाइल व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले ‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा बाइक, स्कुटर हातमा’ भन्ने मुल नाराका साथ यस योजना सुरु गरिएको बताए ।

ग्राहक तथा उपभोक्तालाई आकर्षक उपहारद्वारा प्रोत्साहित गर्नुको साथै स्थानीय बजार प्रवद्र्धन गर्नु नै यसको प्रमुख मुख्य उद्देश्य रहेको उनले बताए ।

यस उपहार योजनाको मुख्य प्रायोजक MI Mobile , प्रायोजक HTC Mobile , टिकट प्रायोजक 4 Nations International Education Consultancy Pokhara , र सह–प्रायोजकमा Recrsi र Sky Mobile  महाबौद्ध काठमाण्डौ रहेका छन् । साथै अन्य जिन्सी सहयोगहरु पनि व्यवसायीहरुले यस योजनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष खरेलले जनाए ।

५ सय ६ जना भाग्यशाली विजेताले प्राप्त गर्ने उपहारहरुमा मोटरसाइकल १ थान , स्कूटर १ थान , च्याङ्ग्रा २ वटा , फ्ल्याकसिप मोबाइल फोन २ थान , स्मार्ट फोन २० थान , ३२ टिभी ५ थान , राईसकुकर १० थान , इलेक्ट्रिक जग १० थान , किप्याड फोन १ सय २५ थान , इयरवड १ सय २५ थान , स्पीकर २० थान , पावर बैंक ३० थान , स्मार्ट घडी ३० थान , भित्ते घडी १ सय २५ थान रहेको छ ।

यस्तै १ सय ५ जनाले विशेष भाग्यशाली उपहार योजना अन्तर्गत मासिक उपहार प्राप्त समेत प्राप्त गर्नेछन् ।

व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकले जति रकमको सामान खरिद गरे पनि एउटा कुपन नि:शुल्क उपलब्ध गराउनुका साथै धेरैभन्दा धेरै ग्राहकको हातमा कुपन पु¥याउने र सानो ठूलो भए पनि उपहार उपलब्ध गराउने योजना रहेको आयोजकले जनाएको छ ।

नेपालका विभिन्न क्षेत्रबाट कास्की जिल्लामा आई मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको व्यवसाय गर्दै गरेका ३ सय १० व्यवसायी संघमा आवद्ध रहेका छन् ।

५ महिनाको अवधिसम्म सञ्चालन हुने यस उपहार योजनामा ३ लाख कुपन बाड्ने लक्ष्य राखिएको आयोजकको भनाई छ ।

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ आयोजक रहेको कार्यक्रममा नेपाल मोबाइल बितरक संघ गण्डकी प्रदेश र नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशले सहयोग गर्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्