श्रावण १५ गते, बिहीबार
पोखरा ।। नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक सुन्दर शहर हो पोखरा । यो शहर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक गतिविधिहरूको लागि विश्वभर प्रसिद्ध छ। पोखरा केवल एउटा गन्तव्य मात्र नभई यो एउटा अनुभूति पनि हो ।
यहाँका हरियाली, हिमाल, तालतलैया, विभिन्न धार्मिक मठमन्दिर, साहसिक र रोमाञ्चक खेलहरुले जो-कोहीलाई पनि मोहित गर्छ । यी सबै विशेषताले भरिपूर्ण पोखरा पर्यटकीय राजधानी पनि हो । यस पर्यटकीय राजधानीमा पहिलो पटक आरयु फेष्ट हुने भएको छ ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तर्गत आरयु फेष्ट (RU FEST-2025) हुने भएको हो।
यो फेष्ट श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुनेछ । फोहोरलाई मोहोर बनाउने उद्देश्य सहित यो फेस्टिभल आयोजना गरिएको महानगरले बिहीबार(आज) पत्रकार भेटघाट कार्क्रमको आयोजना गर्दै जानकारी दिएको हो।
उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले विषेशगरी यस फेस्टिभलको मुख्य उद्देश्य भनेको फोहोरको पुनःप्रयोग (रिसाइक्लिङ र अपसाइक्लिङ) मार्फत सिर्जनात्मक रूपमा उपयोग गरी हरित रोजगारी (Green Jobs) सिर्जना गर्नु रहेको बताएका छन् ।
यस फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको पनि उनले बताए ।
आचार्यका अनुसार दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नुका साथै यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने समेत बताए ।
फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुनेछ ।
मेयर आचार्यले यो फेष्ट उद्यमी वा उद्योगी बन्नेहरुका लागि अवसर भएको बताए । उनले फोहोर अभिसाप होईन, यो त उद्यमी वा उद्योगी बन्ने अवसर पनि रहेको स्पष्ट पारेकी छन् ।
रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीको ०.८७ मिलियन अमेरिकी डलर झण्डै १ अर्ब ४४ करोड ८७ लाखको लगानीमा जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ ।
यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए । यसका लागि अहिले पोखरामा जिभिजेड सेन्टर निर्माण भइरहेको र नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको उनले बताए।
यसै अन्तर्गत पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको मेयर आचार्यले जानकारी दिए।
उनका अनुसार यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने र हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।
साथै फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी यस्तै नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान पनि गरिने परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको उनले बताए।
हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।














