फिने गण्डकी समिति गठन, अध्यक्षमा जितु गुरुङ
  • प्रमुख खबर

श्रावण १८ गते, आइतबार

पोखरा ।। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ(फिने)एक गैर-राजनीतिक, गैर-नाफामुखी र उद्यमशीलता प्रवर्द्धनमा समर्पित अन्तर्राष्ट्रिय संस्था हो ।

विशेषगरी यस संस्थाको प्रमुख उद्देश्य नेपाली युवालाई उद्यमशीलता, नवप्रवर्तन, व्यवसायिक सीप र नेतृत्व अभिवृद्धि गराउने रहेको छ।

यस संस्थाले आफ्नो पहिलो समिति बागमती प्रदेश समिति २०७५ बैशाख ४ गते गरेको थियो।

पछिल्लो समय युवा उद्यमी सञ्जाल विस्तार, प्रशिक्षण, लगानी सहजता, अन्तर्राष्ट्रिय व्यापार प्रोत्साहन गर्ने लक्ष्य सहित यसले आफ्नो प्रादेशिक समिति गण्डकी प्रदेशमा समेत गरेको छ।

श्रावण १७ गते पोखरामा गठन भएको गण्डकी प्रदेश समितिको अध्यक्षमा व्यवसायी जितु गुरुङ चयन भएका छन्।

उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन भएको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सह-सचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सह-कोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन्।

समितिको सदस्यहरुमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपाल कृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर चयन भएका छन् ।

यस्तै यस समितिको प्रवक्ताको जिम्मेवारी भने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई दिइएको छ। गठित समितिले गण्डकी प्रदेशमा युवा उद्यमशीलता प्रवद्र्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस फिने गण्डकी प्रदेश समिति गठन कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।

उनले कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकार युवा उद्यमीहरूसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले पर्यटन र कृषि क्षेत्रमा लगानी प्रवद्र्धन गर्न छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको पनि बताए।

उक्त कार्क्रममा उनले बाँझो जमिनको उपयोग गरी गाँजा खेतीलाई औषधिय प्रयोजनका लागि व्यावसायिक बनाउने र स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने योजना सहित प्रदेश सरकारले काम गरिरहेकी रहेको जानकारी दिए।

उनले भने,“गाँजाको औषधीय गुणलाई उपयोग गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ तर यसको दुरुपयोग रोक्न कडा कानुनी प्रावधान लागू गरिनेछ।”

यस्तै सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरी पर्यटकको बसाइ अवधि २० दिनसम्म पु¥याउन सकिने सम्भावना औँल्याए।

उनले आफ्नो कम्पनीमार्फत हालसम्म १० अर्ब लगानी भइसकेको र आवश्यक परे थप लगानी गर्न तयार रहेको पनि बताए।

हाल नेपालमा केही गर्न सकिँदैन, यहाँ कुनैपनि सम्भावना छैन भन्ने जुन भाष्य निर्माण भइरहेको छ त्यसमा कुनै सत्यता नभएको बताउँदै यहाँ धेरै सम्भावना रहेको हुदाँ युवाहरुले त्यस अनुरूपको भिजन सहित काम गर्न तयार भए आफूहरुले लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने बताए ।

फिने विश्वभरिमै फैलिएको एक युवा उद्यमीहरूको सञ्जाल पनि हो जसको शाखाहरू अमेरिका, यूके, जापान, अष्ट्रेलिया, हङकङ, चीन लगायतका देशहरू फैलिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्