श्रावण १८ गते, आइतबार
पाेखरा ।। पृथ्वीको दीर्घकालीन मौसम प्रणालीमा देखिने असामान्य वा स्थायी परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।
यसले पृथ्वीकाे तापमान, वर्षा, हावाको ढाँचा, हिमपात, मौसमी चक्र आदि प्रणालीहरूमा दीर्घकालीन रूपमा आउने प्राकृतिक वा मानवनिर्मित परिवर्तनलाई समेट्छ।
नेपालजस्ता विकासउन्मुख राष्ट्रहरूमा जलवायु परिवर्तनले गम्भीर रुपमा असर पुर्याएकाे छ। विशेषगरी भौगोलिक, आर्थिक र सामाजिक दृष्टिले हाम्राे जस्ताे राष्ट्र संवेदनशील राष्ट्र भएकाले यसका असरहरू प्रत्यक्ष रूपमा मानव जीवन, स्रोत र पूर्वाधारमा देखा परेका छन्।
पछिल्लो समय जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा हिउँ अत्यधिक गतिमा पग्लँदैछ, जसले ग्यालसीयर झील विस्फोटको खतरा बढाएको छ।
यसले नदीको बहाव असन्तुलित भएको छ, जुन बाढी वा सुख्खा दुवैको कारण पनि बनेकाे छ। यसका अलावा हाम्राे कृषि क्षेत्रमा प्रतिकूल असर, पिउने पानीका मुहानहरू सुक्दै, विपद्को बढ्दो जोखिम,
स्वास्थ्यमा असरका साथै जैविक विविधता संकटमा समेत परेकाे छ ।
यसै विषयलाई समेट्दै सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असरका सम्बन्धमा नेपालको संसदको तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका छन् ।
उक्त सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडाैंमा हुनेछ ।सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भई आइतबार(आज) मात्र स्वदेश फर्किएका उनले संसदमा यस विषयबारे जानकारी गराएका हुन् ।
उनले अन्तर व्यवस्थापिक संघ (आईपीयू)का अध्यक्षसँग पनि एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।
सभामुख घिमिरे स्विट्जरल्याण्डको, जेनेभनमा साउन १४ देखि १७ गतेसम्म सञ्चालन भएको छैठौँ विश्व सभामुख सम्मेलनमा सहभागी भएका थिए ।
उक्त सम्मेलनमा विश्वले भोगिरहेको ठूलै राजनीतिक, सामाजिक र पर्यावरणीय चुनौतीहरूको समाधानका लागि संसदीय अन्तरक्रियामा तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए ।











