श्रावण १९ गते, सोमबार
काठमाडौं ।। समाजवादी मोर्चाको बैठक अघि दुई शीर्ष नेताबीच विशेष छलफल हुने भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार (आज) दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।
समाजवादीका अध्यक्ष नेपाल निकट स्रोतका अनुसार, “दुई नेताबीच ३ बजे सिंहदरबारमा छलफल हुने पक्का भएको हो। तर छलफलको ठ्याक्कै एजेण्डा भने स्पष्ट छैन,” उनले भने।
यद्यपि, स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने सम्बन्धमा प्रारम्भिक सहमति जुट्ने र अघिल्लो बैठकपछि भएका गतिविधिको समिक्षा गर्ने सम्भावना रहेको बताइएको छ।
विभिन्न कारणले गत चैत यता समाजवादी मोर्चाको बैठक बस्न सकेको छैन।
यसबीचमा मोर्चाबाट घोषित कार्यक्रमहरू पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै नेतृत्व तहमा समीक्षा र पुनःसंयोजनको आवश्यकता महसुस पार्टी भित्र गरिएको छ।










