कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु, ३० भन्दा बढी अस्पतालमा
  • प्रमुख खबर

पोखरा//

खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, घटनामा ३० भन्दा बढी नेपाली बिरामी परेका छन् र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कुवेतमा मदिरा बिक्री तथा सेवन कानुनी रूपमा पूर्ण रूपमा प्रतिबन्धित भए पनि लुकीछिपी हुने बेचबिखनका कारण नेपाली कामदारहरू यस घटनामा प्रभावित भएको प्रारम्भिक जानकारी दूतावासले प्राप्त गरेको छ।

आचार्यका अनुसार, दूतावास निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा रही थप विवरण संकलन गरिरहेको छ। “सबै प्रक्रिया पूरा भएपछि मृतकको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्नेछ,” उनले बताए।

हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत छन्, जसमा ठूलो संख्यामा श्रमिक वर्ग रहेका छन्। यो घटनाले विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्