भाद्र ५ गते, बिहीबार
काठमाडौं ।। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमाले कै कार्यकर्ता रहेको स्पष्ट पारेकी छन् । बिहीबार (आज) काठमाडौंको थापागाउँमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले आफु अहिले पनि पार्टीको एउटा सक्रिय कार्यकर्ता रहेकोले पार्टीले रोके पनि निरन्तर रूपमा काम गरिरहने दृढता व्यक्त गरेकी छन् ।
भण्डारीले जनताको बहुदलीय जनवादनै एमालेको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गर्दै त्यस कै मर्म र भावना अनुरुप काम गर्नुपर्ने बताइन्।
उनले भनिन्, “पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकारेको छ । त्यसकै आधारमा हामीले काम गर्नु पर्छ ।”
उनले एमाले कार्यकर्ताहरुलाई संगठन बलियो बनाउन, विचारमा स्पष्टता ल्याउन र जनतासँग जोडिन निरन्तर क्रियाशील रहन आग्रह समेत गरिन् ।
विषेशगरी मदन भण्डरीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा आयोजित कार्यक्रममा आफूले पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन्।
उनले त्यस समय उक्त घोषणा गर्दै पूर्व राष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सम्पूर्ण सुविधाहरु त्याग गर्दै विधिवत् रूपले सदस्यता नवीकरण गरेको बताएकी थिइन् ।
त्यस्तै साउन ९ गते उनले पत्रकार सम्मेलनमार्फत सदस्यता प्रक्रियागत रूपमा जारी रहेको र यस विषयलाई विवादमा नपार्न आग्रह गरेकी थिइन्।
त्यस समय उनले यो संवैधानिक अधिकार भएको र आफुले कुनै पदको लोभ नराखेको तर मुख्ख उद्देश्य पार्टीलाई सबल र एकताबद्ध बनाउनु र मुलुक र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेकी थिइन् ।
पूर्व राष्ट्रपति भण्डारीको पुनरागमनले एमाले भित्र केही उत्साह, असहजतासँगै राजनीतिक तरंग किसिमका पैदा गरेको छ।












