भाद्र ९ गते, सोमबार
पोखरा ।। ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान अन्तर्गत पोखरा महानगरपालिकाले मेगा वृक्षारोपण अभियान सुरु गरेको छ।
सो अभियान अन्तर्गत विभिन्न प्रजातिका २ लाख २६ हजार बिरुवा रोपिने कार्यक्रम रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
अभियानको पहिलो चरणमा सोमबार(आज) गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा १ सय फलफूलका बिरुवा लगाइएको महानगरले जनाएको छ ।
विषेशगरी “ग्रिन सिटी, क्लिन सिटी” अभियान अन्तर्गत पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा विभिन्न प्रजातिका १ सय फलफूलका बिरुवाहरू लगाइएको हो ।
उक्त अभियानको अवसरमा तालिम केन्द्रका प्रमुख एसएसपी जनार्दन जि.सी, वडा नं १५ का वडाध्यक्ष तोरण बानियाँ, महानगरका वातावरण तथा पर्यटन महाशाखा प्रमुख विमल रञ्जन कार्की, डिएसपी कृष्ण कार्की, जनप्रतिनिधिहरू आशिष भण्डारी र बलराम पौडेल लगायत नगर प्रहरी र प्रहरी जवानहरूको सहभागिता रहेको थियो ।
उक्त अभियान अन्तर्गत महानगरपालिकाका प्रमुख आचार्यले भने,“हामी सबैको जिम्मेवारी महानगरलाई हरियाली र सफा बनाउने हो।
बिरुवा लगाउने मात्र होइन, तिनीहरूको संरक्षण र संवर्द्धन पनि उत्तिकै आवश्यक पर्छ। त्यसैले हामी समुदायलाई सक्रिय सहभागी बनाएर वातावरणमैत्री पोखरा निर्माण गर्न चाहन्छौं।”











