भाद्र १५ गते, काठमाडौं ।। राजावादी आन्दोलनका क्रममा चैत १५ गते भएको तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ ।
न्यायाधीश उमानाथ गौतमको इजलासमा उक्त मुद्धा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो ।
तीनकुने घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा दुर्गा प्रसाईँसहितलाई मुद्दा दायर गरेको थियो ।
यसअघि, जेठ ३० गते न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा संलग्नमध्ये सात जनालाई थुनामा पठाउने आदेश दिएको थियो।
सो निर्णयविरुद्ध प्रसाईँसहित चार जना उच्च अदालत पुगेका थिए। उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि प्रसाईँसहितका अभियुक्त रिहा भएका थिए।
राजावादी आन्दोलनका क्रममा प्रसाईँले गाडी चलाएर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोप छ।
त्यस्तै, उनका समर्थकहरूले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट तथा सञ्चारगृहमाथि आक्रमण गरेको अभियोगसमेत लगाइएको छ। सो घटनामा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।









