अनुशासन सिफारिसमा परेकाको पनि सदस्यता नवीकरण हुने: नेपाली कांग्रेस
  • प्रमुख खबर

भाद्र १६, पोखरा ।। नेपाली कांग्रेसले अनुशासनको कारबाही सिफारिसमा परेका सदस्यहरूको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।

महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले उक्त निर्णय गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

२०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको अभियोगमा करिब २ हजार १ सयभन्दा बढी नेता तथा कार्यकर्ता अनुशासन कारबाहीको सिफारिसमा परेका थिए।

तर तीन वर्ष बित्दा पनि अनुशासन समितिले सो विषयलाई लिएर कारबाहीको निर्णय टुंगो नलगाएपछि सदस्यता व्यवस्थापन समितिले सोमबार(आज) यस्तो निर्णय गरेको हो।

समितिले यसपटक विदेशमा रहेका क्रियाशील सदस्यलाई लक्षित गर्दै अनलाइनमार्फत सदस्यता नवीकरण गर्ने सुविधा पनि उपलब्ध गराउने भएको छ।

यसअघि जनसम्पर्क समितिको सिफारिसमा मात्र नवीकरण हुने व्यवस्था रहेकोमा अब विश्वको जुनसुकै स्थानमा रहेका सदस्यले प्रत्यक्ष अनलाइनमार्फतै नवीकरण गर्न सक्नेछन्।

यसैबीच सदस्यता नवीकरणको अनुगमनका लागि समितिले तीन केन्द्रीय सदस्यलाई प्रदेशगत जिम्मेवारी तोकेको छ।

स्नेहीलाई मधेस र लुम्बिनी, सीता गुरुङलाई गण्डकी र बागमती, र योगेन्द्र चौधरीलाई कोशी तथा सुदूरपश्चिम प्रदेश तोकिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्