भाद्र १९, काठमाडौँ
सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले बिहीबार साँझ मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल पठाउँदै आवश्यक कागजातबारे जानकारी मागेका थिए।
“पौने पाँच बजे मेटाका प्रतिनिधिले इमेल गरेका रहेछन्। हामीले पाँच मिनेटमै सामाजिक सञ्जाल दर्ताका लागि आवश्यक कागजातबारे जानकारी पठाइदिएका छौं,” प्रवक्ता ठाकुरले बताए।
यसअघि सरकारले क्रमशः लागू हुने गरी दर्ता नभएका सामाजिक सञ्जाललाई रोक लगाउने निर्णय गरिसकेको छ।











