भाद्र २०, पाेखरा ।।
नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै पार्टी सदस्यता नवीकरणमाथि उठाइएका प्रश्नप्रति कडा आपत्ति जनाएकी छन् ।
उनले आफ्नाे सदस्यताको विषयलाई व्यक्तिगत होइन, पार्टीको विधि र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको गम्भीर प्रसङ्गको रूपमा प्रस्तुत गरेकी हुन्।
एमाले केन्द्रीय कमिटीकाे साउन ५ र ६ गते बसेको बैठकपछि उत्पन्न सदस्यता विवादमा प्रतिक्रिया दिँदै भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिलाई पत्र लेखेकी छन्।

उनले लेखेकाे पत्रमा, “यो पत्र मेरो आत्मरक्षाका लागि होइन, हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो। सदस्यताको प्रश्न कुनैपनि कार्यकर्ताले भोग्न नपर्ने मेरो अडान हो।”
भण्डारीले आफ्नो राजनीतिक यात्रा स्कूले जीवनदेखि नै लोकतन्त्र, महिला अधिकार र समानताका लागि समर्पित रहेको स्मरण गराउँदै २०३७ सालमा पाएको सदस्यतालाई पार्टीप्रति आस्था र प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरेकी छन्।
उनले राष्ट्रपति निर्वाचित भएपछि २०७२ कार्तिकमा प्रेस नोट जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरे पनि, पार्टी नेतृत्वकै सल्लाहमा पछि सदस्यता नवीकरण गरेको स्पष्ट पारेकी छन्।
उनको दाबीअनुसार २०८२ असार १४ गते दिवंगत नेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा आफ्नो सदस्यता नवीकरण भएको औपचारिक घोषणा गरिएको थियो।
तर पछिल्ला दिनमा केही नेताले सार्वजनिक रूपमा सदस्यता नवीकरण नभएको भन्दै प्रश्न उठाउन थालेपछि कार्यकर्तामाझ अन्योल र जनतामाझ भ्रम सिर्जना भएको उनको भनाइ छ। संविधानले नागरिकलाई स्वतन्त्रता, समानता र सहभागिताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आफ्नै पार्टी नेतृत्वबाट सदस्यतालाई निष्क्रिय ठहर्याउने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिविपरीत रहेको आरोप समेत उनले लगाएकी छन् ।
भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई सदस्यता विवादलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन योगदान दिन अनुरोध गरेकी छन्।










