भाद्र २८, काठमाडौं ।।
देशैभर भएको जेनजी प्रदर्शनले होटल क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। उक्त प्रदर्शनमा क्रममा देशभर रहेका होटल क्षेत्रमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको हो ।
होटल संघ नेपालले एउटा विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ करिब दुई दर्जन होटलहरुमा प्रत्यक्ष रूपमा प्रभावित भएको छ।
तीमध्ये काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी र तुलसीपुर (दाङ)का होटलहरू प्रमुख रूपमा प्रभावित छन्।
विषेशगरी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले यस क्षेत्रमा ठूलो क्षति पुर्याएको होटल व्यवसायीहरुले बताएका छन् ।
पर्यटकीय सिजन शुरू हुनै लाग्दा सृजना भएको यस परिस्थितिले कतिपय विदेशी पर्यटकहरुले आफ्नो बुकिङ रद्द गरेको समेत उनीहरूले बताए ।
विगतका केही कालखण्डमा समेत विभिन्न चुनौतीहरु पार गर्दै आएको यस क्षेत्र पूर्न: प्रदर्शनका कारण बिथोलिन पुगेको छ। तर उनीहरूका अनुसार पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा तत्कालीन असर नपरेको र चाँडै पुनःसुधार हुने विश्वास आफूहरूको रहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेको बताउँदै अहिले प्रदर्शनले होटल र पर्यटन क्षेत्रमा भएको क्षतिको समग्र अध्ययन पनि बोर्डले अघि बढाएको जानकारी दिए।
यता, यस क्षेत्रका व्यवसायीहरुले नेपालको पर्यटन छिट्टै पुनःरूत्थान हुने विश्वास व्यक्त गरेका छन् । तर यसका लागी सबै सरोकारवाला एकताबद्ध भएर पर्यटन पुनःरूत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिइरहेका छन् ।









