भाद्र २९, पोखरा ।।
कास्की मालपोत कार्यालयको सम्पूर्ण सेवा कहिले सुचारु हुने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण कार्यालयको अति महत्पूर्ण कागजात देखि लिएर कार्यालयका मोटर, कम्प्युटर, रोखा र अन्य उपकरणमा ठूलो क्षति पुर्याएपछि सेवाप्रवाह रोकिएको हो।
कार्यालयले आइतबार एउटा सूचना जारी गर्दै आवश्यक मर्मत र पूर्वतयारी सम्पन्न नभएसम्म सेवा सञ्चालन गर्न नसकिने जनाएको छ।
सो कार्यालयले अर्को सूचना जारी नभएसम्म सेवाग्राहीले सेवा लिन नपाउने स्पष्ट समेत गरेको छ।
कार्यालय प्रमुख शोभाकर पोखरेलले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै समस्या समाधान भएपछि मात्रै कामकाज पुनः सुरु हुने जानकारी दिएका छन्।











