आश्विन २, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर आएका छन् ।
जेनजी आन्दोलनका क्रममा देशमा सृजना भएको अस्थिर परिस्थितिका कारण प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदै सेनाको सुरक्षा घेरामा रहँदै आएका उनी बिहीबार(आज) बाट बाहिर आएका हुन् ।
उनी शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गते त्यहाँ बस्दै आएका थिए । एमाले स्रोतका अनुसार ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन् ।
गत २४ भदौमा जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो ।
आगजनीमा परेर निवर्तमान प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र डा. बाबुराम भटराईसहित अन्य कही शीर्ष नेताहरु घरबार विहिन भएका छन् ।










