आश्विन ५, काठमाडौं ।।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा भदौ २३ देखि २६ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले उक्त नीति लिएको हाे ।
विशेषगरी आगामी फागुन २१ गते हुने निर्वाचनलाई समाजवादी व्यवस्था स्थापना गर्ने माध्यमका रूपमा उपयोग गर्ने भन्दै बैठक बसेकाे स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिएका छन् ।
बुढाथोकीले भने, “समाजवादी व्यवस्था ल्याउनका लागि समान विचार भएका कम्युनिस्ट पार्टीहरूसँग सहकार्य र मोर्चाबन्दी आवश्यक हुन्छ।” यसका लागि पार्टीले आवश्यक पहलकदमी गरिरहेकाे छ ।”
तर जेनजी प्रर्दशनका कारण सिर्जित अस्थिरताबीच आधिकारिक निर्णय भने अझै टुंगोमा पुग्न नसकेको उनले बताए ।
उनका अनुसार पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भनेर पहिले नै निर्णय गरिसकेको भएतापनि पछिल्लो क्रममा उत्पन्न भएको विशेष राजनीतिक परिस्थितिका कारण आफुहरु छलफल मै रहेकाले निर्णय भने नभएको बताए ।
जेनजी विद्रोहको प्रभाव स्वरूप भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि मुलुक राजनीति अनिश्चिततामा फसेको छ।
यस्तो अवस्थामा विप्लव नेतृत्वको नेकपाले निर्वाचनलाई कसरी उपयोग गर्ने भन्ने विषय अझै स्पष्ट हुन बाँकी देखिन्छ।










