असोज ८, काठमाडौं ।।
नयाँ मतदाता नामावली संकलन सुरु गर्न निर्वाचन आयोगलाई बाटो खुलेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अब नयाँ मतदाता नामावली संकलन सुरु हुने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गरेको सिफारिसमा बुधबार (आज) मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको विवरण संकलन गर्ने कानुनी आधार मिलेको हो।
यसअघि विद्यमान ऐनको दफा ४ को उपदफा (२) अनुसार, निर्वाचनको मिति घोषणा भइसकेपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन गर्न पाइँदैन भन्ने व्यवस्था थियो। त्यही कारण आयोगले नयाँ नामावली संकलन अघि बढाउन सकेको थिएन।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अध्यादेशले कानुनी अड्चन हटाइएपछि अब आयोगको बैठक बसेर मतदाता नामावली संकलन गर्ने ठोस मिति तोकिनेछ।
“अहिले कानुनी बाटो खुलेको छ। आयोगले चाँडै बैठक बसेर तोकिएको मितिबाट नयाँ मतदाता नामावली संकलन सुरु गर्नेछ,” भट्टराईले भने।
आयोगले यसअघि २०७९ सालको निर्वाचनअघि मात्र मतदाता नामावली संकलन गरेको थियो।
आयोगले गत आइतबार गृह मन्त्रालयलाई पत्राचार गर्दै मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गरेको थियो।
भट्टराईका अनुसार, बिहीबारसम्म आयोगको बैठक बसेर आवश्यक प्रक्रिया अघि बढाउने छलफल भइरहेको छ।











