असोज ११, काठमाडौं ।।
अनुत्पादक खर्च कटौती गर्ने सरकारको हालैको निर्णयअनुसार पूर्वसभामुखहरूले पाउँदै आएको गाडी सुविधा फिर्ता गर्ने विषयमा संघीय संसद् सचिवालय छलफलमा बसेको छ। तर, अहिलेसम्म कुनै निष्कर्षमा पुगिएको छैन।
यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले प्रयोग गर्दै आएका सवारीसाधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा–सुविधा रोक्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
यस्तै संसद् सचिवालयभित्र पनि पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ताबारे बहस चलिरहेको प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार, मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराएको सुविधा अर्थ मन्त्रालयको नयाँ कदमले काट्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न उठेको छ।
राष्ट्रिय सभाको अध्यक्षको हकमा भने मन्त्रिपरिषद् बाट निर्णय भएको जानकारीमा नरहेको गिरीले बताए ।सचिवालयको प्रशासनिक संरचनाबाट भने कुनै खालको सुविधा नदिइएको उनको भनाइ छ।
हालसम्म पूर्वसभामुख ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा संसद् सचिवालयमार्फत गाडी सुविधा प्रयोग गर्दै आएका छन्।









