मलेसियामाथि नेपालको सहज जित, तेस्रो खेलमा रोमाञ्चक भिडन्तको तयारी
  • प्रमुख खबर

असोज १८, काठमाडौं ।।
नेपालले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रभावशाली प्रदर्शन गर्दै ६ विकेटले जित हात पारेको छ।

शनिबार(आज) क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई सहजै पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको मध्यम स्कोर खडा गरेको थियो।

मलेसियाकी ओपनर आइना हमिज हसिमले अविजित ५० रनको योगदान दिए पनि अन्य ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।

९२ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातमै लगातार दुई बलमा दुई विकेट गुमाएर दबाबमा परेको थियो। तर, त्यसपछि पूजा महत्तो ३९ रन र कप्तान इन्दु बर्मा २७ रनको संयमित खेलले टोलीलाई जितसम्म पुर्याएको थियो ।

नेपालले १६.२ ओभरमै लक्ष्य भेट्टाउँदै सिरिजलाई १–१ को बराबरीमा ल्याएको हो।

सिरिजअन्तर्गत अब बाँकी तीन खेल खेलेर विजेता टुंगो लाग्नेछ। तेस्रो खेल आइतबार सोही मैदानमा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्