असोज २३, काठमाडौं ।।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णुप्रसाद सापकोटाले आफूलाई उपलब्ध गराइएको सरकारी सवारी फिर्ता गरेका छन्।
अहिलेको अन्तरिम सरकारले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने र नियुक्त कर्मचारीका सेवासुविधा कटौती गर्ने निर्णय गरेसँगै उनले प्रयोग गर्दै आएको सरकारी सवारी फिर्ता गरेका हुन्।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सचिवालयले उपलब्ध गराएको गाडी सापकोटाले फिर्ता गरेका हुन्।
कानुनी रूपमा राष्ट्रियसभा अध्यक्षका स्वकीयलाई सरकारी सवारी उपलब्ध गराउने व्यवस्था नभए पनि उनीहरू राजपत्रांकित प्रथम श्रेणी सरह हुने भएकाले सोही हैसियतका आधारमा सवारी सुविधा दिइएको थियो।
तर, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रसाद भट्टराईले भने सचिवालयको सवारी हालसम्म फिर्ता गरेका छैनन्।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने भट्टराईले प्रयोग गर्दै आएको सवारी फिर्ता गर्ने विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिएका छन् ।
यस्तै, सङ्घीय संसद्का पूर्वपदाधिकारीहरूले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार आफूहरूले प्रयोग गर्दै आएका सवारीहरू क्रमशः फिर्ता गर्न थालेका छन्।









